आज अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा

सहयात्रा टिभी

काठमाडौं। असार–२१,गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:अर्थात्
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।एकफेर सोचौं न, हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं । तपाई हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।

असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको बाटोमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सकौं !गुरुपूर्णिमाको सबैमा शुभकामना!

प्रकाशित : 5 July, 2020

प्रतिक्रिया दिनुहोस्