बुलकुटेमा थप दुई घर बगे, अविरल वर्षाका कारण उद्धारमा अवरोध

सहयात्रा टिभी

काठमाडौं । असार–२५, गए राति अविरल परेको वर्षाका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ । यस्तै हिजो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।

जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । बाढी पीडितहरूको यतिखेर रुवाबासी हुन थालेको छ । घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ ।बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध भएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्नसकेका छैनन्, जसका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ । तर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिएकाछन् ।घटनास्थल क्षेत्रमा वर्षा भइरहेका कारण उद्धार टोलीलाई समस्या भइरहेको जनाएको छ ।

बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो ।अविरल वर्षासँगै आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।यसैबीच नेपाली सेनाले बाह्रबिसेबाट उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।

प्रकाशित : 9 July, 2020

प्रतिक्रिया दिनुहोस्