सभामुख सापकोटासहितको टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । असार–२५, गए रातीको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका–५, जम्बुमा बस्ती नै बगाएपछि घटनास्थलको निरीक्षण र घाइतेको उद्दारका लागि प्रतिनिधिसभाका सभामुखसहितको टोली घटनास्थल पुगेको छ। बिहान प्रतिकुल मौसमका कारण हेलिकप्टरमा जान सम्भव नभएपछि अपरान्ह सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थल पुगेको हो।
घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सापकोटासहित बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल लगायतको टोली घटनास्थल पुगेको जानकारी दिए। वर्षाका कारण अरनिको राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध हुँदा घाइतेको उद्दारमा समेत ढिला भएको थियो। सडकअवरुद्ध भएका कारण सुरक्षाकर्मीको टोली समेत बिहान अबेर मात्र घटनास्थल पुगेको बताइएको छ । भोटेकोशी गाउँपालिकाको बुल्कोटका घाइते फूर्वा लामा, सोही ठाउँकी १० दिने शिशु तथा बाह्रबिसे–४, जम्बुका ६० वर्षीया बुद्धिमाया तामाङ, २३ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। थप घाइते दुई जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल निरीक्षण र घाइतेको उद्दारपछि सभामुखसहितको टोलीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग घटनाको विषयमा थप जानकारी लिएका थिए। सापकोटाका अनुसार हेलिकोप्टरबाट गम्भीर घाइते सविना बस्नेतलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। अर्का घाइते सिंहबहादुर वाइवालाई पनि हेलिकोप्टरबाटै काठमाडौं ल्याउने तयारी भइरहेको छ। हेलिकोप्टरमा घाइतेलाई सुताएर राख्न पर्ने भएकाले एक पटकमा एक जनालाई भन्दा बढी लैजान नसकिएको सापकोटाले जानकारी दिए।बिहीबार बिहान घाइतेलाई उद्धारका लागि काठमाडौंबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मंगलटारमा अवतरण गरिएको थियो। मंगलटारमा करिब २ घण्टा बसेपछि घाइतेलाई उद्धारका लागि हेलिकोप्टर बाह्रबिसे पुगेको थियो।