चौबीस घण्टामा, विश्वमा कोरोना पुष्टि सङ्ख्या हाल सम्मकै उच्च

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०४, पछिल्लो चौबीस घण्टामा विश्वभरि करिब दुई लाख ६० हजार कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । गत डिसेम्बरमा चीनमा सुरु भएको कोरोनाको प्रकोपयता चौबीस घण्टामा पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो । यससँगै विश्वमा कोरोना सङ्क्रमित हुने संख्या एक करोड ४२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भारी सङ्ख्यामा थपिएका सङ्क्रमितमध्येका अधिकांश संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ३६० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यो मे १० यताकै सबैभन्दा बढी मृत्यु भएको तथ्याङ्क हो ।अमेरिकामा ३७ लाख व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।भने ११ लाख सङ्क्रमित निको भई घर फर्केका छन् । अमेरिकाको फ्लोरिडा राज्य कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ । दैनिक दश हजारभन्दा बढी सङ्क्रमितको पुष्टि हुँदैआएको छ । चौबीस घण्टामा ९० सङ्क्रमितको मृत्यु भएको छ ।कोभिड–१९ले फ्लोरिडामा मात्रै पाँच हजार जनाको ज्यान गुमेको छ ।ब्राजिलमा सङ्क्रमित हुनेको सङ्ख्या २० लाख ७४ हजार ८६० पुगेको छ । पछिल्लो चौबीस घण्टामा करिब २८ हजार नयाँ सङ्क्रमित थपिदा ९२१ जनाको मृत्यु दर्ता गरिएको छ ।भने त्यहाँ ७८ हजार ७२२ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।दक्षिण अफ्रिकामा पछिल्लो चौबीस घण्टामा १३ हजार २८५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै दक्षिण अफ्रिकामा सङ्क्रमण पुष्टि हुने संख्या तीन लाख ५० हजार ८७९ पुगेको छ । हालसम्म दक्षिण अफ्रिकामा चार हजार ९४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिका अमेरिका, ब्राजिल, भारत र रुसपछि पाँचौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ ।समाचार संस्था अलजजिराले जोन हप्कीन्स विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै आइतबार बिहानसम्म कोरोना सङ्क्रमणले मृत्यु हुने छ लाख एक हजार २१३ जना पुगेको जनाएको छ । करिब ७९ लाख सङ्क्रमित निको भएका छन् । अमेरिकाको ५० राज्यमध्ये ४३ राज्यमा कोरोना सङ्क्रमणको प्रकोप फैलिँदा मृत्यु हुनेको सङ्ख्या एक लाख ४० हजार पुगेको बताइएको छ ।

प्रकाशित : 19 July, 2020

प्रतिक्रिया दिनुहोस्