त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

काठमाडौं । श्रावण–०५, त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिन कार्यालयहरूलाई दिएको छ । आइतबार बसेको त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको हो । त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालका अनुसार उक्त बैठकले ७ साउनसम्म लकडाउन रहेको र त्यसपछिको अवस्था हेरेर विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने गरी अधिकार दिएको बताए ।सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने व्यवस्था रहेको छ । वार्षिक प्रणालीका परीक्षा भने असोजमा लिन सक्ने दाहालले बताए । ‘परीक्षा फारम भरिसकेका विद्यार्थीको हकमा यो निर्णय भएको हो, फारम नभरेका विद्यार्थीको हकमा कुनै निर्णय भएको छैन,’ उनले भने ।
अहिले सार्वजनिक यातायातसमेत चल्न थालेकाले केही समय सामाजिक दूरी कायम गरेर परम्परागत रूपमै परीक्षा लिन सकिने त्रिविका पदाधिकारीको भनाइ छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छन् ।कोरोना भाइरसको जोखिम बढेसँगै चैतको पहिलो सातादेखि नै शैक्षिक गतिविधि बन्द भएका कारण अधिकांश विद्यार्थी घर गएका छन् । उनीहरूको अवस्था के छ भन्ने विषयमा त्रिविले ट्रेसिङ गरेको छैन । स्नातकोत्तर तहका विद्यार्थीको परीक्षा दिइरहेको अवस्था र कोही परीक्षाको तयारी गरेको समयमा परीक्षा स्थगित भएको थियो । भने गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द र सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । कतिपय संकायमा आधा विषयमा परीक्षा दिएर चार महिनासम्म त्रिविले अर्को विकल्प नदिँदा विद्यार्थी तनावमा छन् । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक÷दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या रहेको छ ।
त्रिविले परीक्षासम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा काम गर्न सुझाब दिएको थियो । समितिले ओपन बुकदेखि परम्परागत रूपमा लिइने परीक्षाजस्तै गरी सामाजिक दूरी काम गरी परीक्षा लिन सकिने सुझाब , समितिले ओपन बुक परीक्षा, आन्तरिक मूल्यांकनलाई केही भार दिने र मौखिक, जुमलगायतका माध्यम, टेलिफोन आदिबाट मौखिक परीक्षा लिन सकिने विकल्प दिएको छ । त्यसैगरी, अनलाइन परीक्षा लिन सिफारिस गरेको छ । विद्यार्थी अनलाइनमै रहेर कम्प्युटरमा लेखेर तोकिएको समयभित्र उत्तर पठाउन सक्ने गरी विकल्प दिएको थियो ।