सप्तकोशीमा पानीको बहाव उच्च, ५६ मध्ये ४८ वटा ढोका खोलिए

काठमाडौं । श्रावण–०६, केहि दिनदेखि परेको अविरल वर्षासँगै उर्लिएको बाढीका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । आज बिहान ५ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।
यो बहाव यस वर्षकै उच्च हो । ब्यारेज प्रशासनका अनुसार सप्तकोसीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ । पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । पानीको बहाव र त्यसको चापले नहरमा क्षति पुग्न सक्ने देखिएपछि पूर्व र पश्चिम नहरका ढोका भने बन्द गरिएको छ।सप्तरी र सुनसरीका सप्तकोसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।