हेटौंडाका एक वृद्धको तुइनबाट खसेर मृत्यु

हेटौंडा । श्रावण–०७,केपी ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको तुइनबाट खसेर मृत्यु भएको बताइएको छ । तुइनबाट खसेर राप्ती खोलाले उनलाई बगाएको थियो ।
हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए । खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।राप्ती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए ।