हेटौंडाका एक वृद्धको तुइनबाट खसेर मृत्युपछि हटाइयो तुइनको बकेट

सहयात्रा टिभी

काठमाडौं । श्रावण –०८,हेटौँडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथनजिक रहेको तुइन तर्न खोज्दा लडेर वृद्धको मृत्यु भएपछि उक्त तुइनको बकेट हटाइएको छ । बागमती प्रदेश सरकारले पक्की पुल बनाउने प्रतिबद्धता जनाएपछि बुधबार बकेट हटाइएको जनाइएको छ ।वडाध्यक्ष सविन न्यौपानेले राप्ती खोलामाथि चौकीटोल र मैनटार जोड्ने यो तुइनबाट लडेर मंगलबार ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो । बुधबार तुइन यथावत् रहे पनि मान्छे चड्ने बकेट हटाइएको बताए । बकेट हटाएसँगै आवतजावत बन्द भएको छ ।

वृद्धको मृत्यु भएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएकाले तुइनको बकेट हटाइएको वडाध्यक्ष न्यौपनेले बताए । प्रदेश सरकारले पुलका लागि डिपिआर तयार गरिसकेको छ । तर, पुल निर्माणको काम अगाडि बढ्न सकेको थिएन । करिब एक करोडको लगानीमा दुई वर्षभित्र पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष न्यौपानेले बताए । प्रदेश सरकारको प्रतिबद्धतापछि स्थानीय बासिन्दाकै सहमतिमा बकेट हटाइएको न्यौपाने बताउँछन्। तुइनभन्दा केही पश्चिममा झोलुंगेपुल पनि रहेको छ । तर, पश्चिमका तीन गाउँका आठ सय परिवारलाई पायक नपर्ने भएकाले तुइनमै ओहोरदोहोर गर्दै आएका थिए । झोलुंगेपुलभन्दा तुइनबाट आवतजावत गर्दा दुई घन्टा कम समय लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित : 23 July, 2020

प्रतिक्रिया दिनुहोस्