कोरोनाका कारण थप एकको मृत्यु

सहयात्रा टिभी

वीरगन्ज । श्रावण–०९, नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । चिकित्सकका अनुसार ती वृद्ध हाल निमोनिया भएर अस्पताल आएकी थिइन् भने उक्त महिला मुटु रोगी थिइन् । कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएको थिइन् । ‘ती वृद्ध महिला मंगलबार एडभान्स मेडिकेयर हस्पिटलमा निमोनिया जाँच गराउन आएकी थिइन्,’ डा. सिंहले भने, ‘मुटु रोगकी पुरानो बिरामी महिलामा निमोनियासँगै कोरोनाको लक्षण देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो ।’ ती महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको बताए ।गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको पनि मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्