पर्सामा ३४ सङ्क्रमित थपिए, ‘मास टेस्ट’का लागि सङ्कलित १५ सय स्वाब लाइनमा
पर्सा । श्रावण–१४,पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेको पुष्टिगरेका हुन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।नयाँ फेला परेका सङ्क्रमितहरूमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र पैसा तिरेर पीसीआर परीक्षण गराएकामध्ये एक जना गरी ३४ जना रहेका छन् ।पाँच जना बालबालिका र १० जना महिलासहित सङ्क्रमण फेला परेका ३४ जनामा दुई वर्षदेखि ६५ वर्ष उमेर समूहका छन् । वीरगञ्ज वडा न १५ का आठ जना, वडा नं. ४ का ११ जना, वडा नं. ५ का तीन जना, वडा नं.२५ का तीन जना, वडा नं. ९ , ११ , १२ , ३२ का एकरएक जना, वडा न १० आदर्शनगरका दुई जना र हरैयाका एक जना छन् ।पर्सामा आइसोलेसन बेडको अभावमा यसअघि नै ४८ जना सङ्क्रमित अस्पताल नगई घरमा नै रहेका छन् भने आज ३४ जना सङ्क्रमित बढेसँगै सङ्क्रमितको व्यवस्थापनमा अझ थप समस्या सिर्जना भएको छ । घरमै सङ्क्रमित रहँदा धेरैले होम आइसोलेसनको मापदण्ड पूरा गर्न नसक्ने भएकाले परिवारका अन्य सदस्यमा सङ्क्रमण फैलने उच्च जोखिम रहेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले होम आइसोलेसनमा अलिकति लापरवाही भयो भने परिवारमा सबैमा सङ्क्रमण हुन्छ भने। पचास बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना सङ्क्रमितलाई राखी उपचार गरिँदैछ ।
जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलको क्वारेन्टाईनमै राखिएको छ । पाँच जना पर्सागढीमाको क्वारेन्टाईनमा, तीन जना सखुवाप्रसौनीको क्वारेन्टाईनमा र एक जना ठोरीकै क्वारेन्टाइनमा राखिएको छ । महानगरले सुरु गरेको एक घर एक पीसीआर परीक्षण नीतिअनुरुप ‘मास टेष्टिङ’बाट सङ्कलन गरिएका करिब एक हजार पाँच सय स्वाबको नमुना परीक्षणका लागि लाइनमा राखिएको छ । त्यसबाट ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेमा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने भएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्था मिलाउनुपर्ने सुझाव विज्ञहरूकोरहेको छ ।