शब व्यबस्थापन र आइसोलेसनमा खटिएका १० सैनिकमा कोरोना पुष्टि
जलेश्वर । श्रावण–१४,कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक र दुई शिक्षक पनि कोरोना संक्रमित भएकाछन् ।स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पिसिआर रिपोर्टमा १३ जनामा कोरोना संक्रमण देखिएको बताउँदै त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिए। केही दिन अगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । फोकलपर्सन झाले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना संक्रमित देखिएको जानकारी दिए । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।
त्यसैगरी जिल्लामा दुई शिक्षक पनि कोरोना संक्रमित रहेको र ती मध्ये एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको बाताइएको छ । उनी केही दिन अगाडि मात्रै बिरगंजबाट आएका र अर्का शिक्षक भने सिन्धुपाल्चोकबाट आएका फोकलपर्सन झाले जानकारी दिए ।त्यसैगरी भारतबाट आएका बलवाका एकजनामा समेत कोरोना पोजेटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भने,‘यो सहित अहिलेसम्म जिल्लामा आठ सय ५९ जना कोरोना पोजेटिभ देखिएका छन् ।’
उनले कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं.३ मा कन्टयाक्ट टे«सिङ गर्दा मृतकका पत्नी र छोरासहित सात जना कोरोना पोजेटिभ फेला परेको जानकारी दिए। ४२ जनामा.गरिएको परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको सो वडामा एकहप्ताको लागि औषधीपसल बाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।यसैबीच, जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पिसिआर जाँच नभएकालाई अनिवार्य रुपमा पिसिआर गराउने निर्णयका साथै पिसिआर भएकाहरुलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।