तीन सीडीओको बैठक: अत्यावश्यक सेवाबाहेक उपत्यकामा थप कडाइ गरिने

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२३,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप कडाइ हुने भएको छ।  तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेकोबताइएको हो।

जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ­’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।‘बैठकमा उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ’, ललितपुरका सीडीओ नारायण भट्टले भने, ‘उपत्यकामा संक्रमण बढेपछि आगामी दिनमा कस्तो रणनीति तय गर्न सकिन्छ भनेर छलफल गरिएको हो।’ बैठकमा संक्रमण बढी देखिएको क्षेत्र सिल गर्ने, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, सपिङ मल र व्यापारिक केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने, मापदण्ड कार्यान्वयन नभएको पाइए बन्द गर्नेलगायत विषयमा छलफल भएको स्रोतले बताएको छ। ललितपुरको सीडीओ भट्टका अनुसार उपत्यकाको सुरक्षा मापदण्डका विषयमा केही महत्वपूर्ण प्रस्ताव गृहमन्त्रालयमा पठाउने विषयमासमेत छलफल भएको छ।उक्त छलफलमा काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसहित सुरक्षा निकायका प्रमुख र उद्योगीको सहभागीता रहेको बताइएको छ ।

प्रकाशित : 7 August, 2020

प्रतिक्रिया दिनुहोस्