विद्युत् मिटर ‘रिडिङ’ गर्न अब ग्राहकको घर जानु नपर्ने, महसुल नबुझाउनेको केन्द्रबाटै लाइन काटिने :नेपाल विद्युत् प्राधिकरण

सहयात्रा टिभी

काठमाडौं । श्रावण –२६,नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार बुढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका छन् ।देशभर ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरूको करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने कार्यक्रम कार्यान्वयन उत्साहजनक भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २५ सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिएकाछन् ।

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे ९टिओडी० मिटरहरूलाई स्मार्ट बनाइसकेको जनाएको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरहरूलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको प्राधिकरण बताउँछ । यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् भने ६० हजार मिटर जडान भइरहेको पनि जानकारी रहेको छ। नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन ब्याकबोन’ काठमाडौं उपत्यकाभरिलाई हुने गरी जडान गरिनेछ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको बताइएको छ । यसमा एसियाली विकास बैंकले प्रधिकरणलाई सहुलियतपूर्ण ऋण दिएको छ । काठमाडौं उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया पनि अगाडि बढाइएको छ ।

यस्ता छन् स्मार्ट मिटरका फाइदा:

*स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घर–घर धाएर मिटर रिडिङ गर्नुपर्दैन,

*विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन पनि केन्द्रबाटै काट्न सकिनेछ,

*कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ, नियन्त्रण हुन्छ,

*स्मार्ट मिटरमा हरेक घन्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा फरक–फरक महसुल तोक्न सकिनेछ ,

अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदै छ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने प्राधिकरणका भनाई छ । स्मार्ट मिटरमा पोस्टपेड र प्रिपेड दुवै फङ्सन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोस्टपेड र प्रिपेड गर्न सकिनेछ । ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित : 10 August, 2020

प्रतिक्रिया दिनुहोस्