पुतलीबजारमा थप ६ जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

स्याङ्जा । श्रावण –२८, पुतलीबजार नगरपालिका वडा नं.१३ मा फेरि ६ जना कोरोना संक्रमित थपिएका छन्। कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको जनाइएको हो।

प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुतलीबजारका ४ जना महिलासहित २ पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकोमा ३८, ४८, ५३ र ५७ वर्षीया महिला हुन। यसैगरी, निर्देशक डा. विनोदविन्दु शर्माले ५३ र ६३ वर्षका पुरुष भएको जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसनमा राखिएको बताइएको छ। एक थुनुवा ब्यक्तिबाट समुदायसम्म संक्रमण बढेको पाइएको छ। पछिल्लोपटक थपिएका ६ जनामध्ये ५ जना यसअघि संक्रमित परिवारका सदस्य रहेको र एक जना ती बाहेकका छिमेकी रहेको नगरस्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले जानकारी दिएकाछन्। योसँगै सो वडामा मात्र संक्रमितको संख्या २० पुगेको छ। सोही वडाका १ सय २० जनाको कन्टयाक्ट ट्रेसिङ गर्दा १ सय १० जनाको भने नेगेटिभ आएको प्रमुख काफ्लेको भनाइ छ।
यो संगै पुतलीबजारमा मात्र कोरोना संक्रमित हुनेको संख्या ७४ पुगेको छ। ती मध्ये ३८ जना निको भएर घर फर्केका छन् भने ३६ जना पुतलीबजारको करेण्डाँडा स्वास्थ्य चौकी र भीरकोटको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

प्रकाशित : 12 August, 2020

प्रतिक्रिया दिनुहोस्