बाराबाट ‘सुन तस्कर’ इल्ताफ पक्राउ

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२९,साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।उनी सँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ पर्न सकेका छैनन् । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई प्रहरीले पक्राउ गरेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए । त्यसपछि प्रहरीले फरार अन्य व्यक्तिको खोजी कार्य जारी राखेको थियो ।यस अघि सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।

चाँदीमा सुनको लेपन लगाउने न्युरोडका कालिगढ मनिष मल्लिकलाई भने सोधपुछ गरेर छाडिएको थियो । सुनचाँदी तस्करीमा संलग्न हुनुअघि अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर कैद भुक्तानपछि छुटेका थिए । भारतीय नागरिक निलेश सखियाले उनै अन्सारीमाफर्त सुन तस्करीको सञ्जाल विस्तार गरेको पाइएको थियो।सखिया भारतीय चलचित्र निर्माता पनि हुन् । उनले पछिल्लो पटक सन् २०१९ मा ‘पेनाल्टी’ नामक चलचित्र बनाएका थिए । सखियाले चलचित्र निर्माणमा नोक्सान बेहोरेपछि सुन तस्करीमा हात हालेको प्रहरीलाई बयान दिएका थिए ।प्रहरी स्रोतले त्यसदिन काठमाडौंबाट बरामद गरिएको सुनचाँदी अन्सारीले वीरगन्जसम्म पुऱ्याइदिने र त्यहाँबाट सखिया आफैले गुजरात लिएर जाने तयारीमा रहेको बताएको छ ।उनीहरुले गुजरातलगायत भारतका विभिन्न स्थानमा सक्कली सुन भन्दै जलप लगाएको पहेँलो धातु दिएर ठगी गर्ने योजना रहेको पनि खुलेको छ ।साउन १३ गते सुन्धाराबाट फरार हुँदा प्रयोग गरिएको अन्सारीको बा ६ च ५५१९ नम्बरको स्कार्पियो साउन १४ गते ललितपुरको नखिपोट क्षेत्रबाट प्रहरीले बरामद गरेको थियो ।यसैबीच बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा बिहीबार बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको स्रोतले बताएको छ।

प्रकाशित : 13 August, 2020

प्रतिक्रिया दिनुहोस्