केही समय घटेको सुनको मुल्यमा पुन: बृद्धि

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२९, नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९०० रुपैयाँबाट बढेर ९७ हजार ३०० पुगेको छ।तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो। यही साउन २३ गते स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ पुगेको थियो।चाँदीको मूल्यमा पनि प्रतितोला ८५ रुपैयाँ वृद्धि भएको छ। आजका लागि महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ तोकेको छ।

प्रकाशित : 13 August, 2020

प्रतिक्रिया दिनुहोस्