कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि बढ्दो
काठमाडौं । श्रावण–२९, देशमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोरोना सङक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा श्रावण लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको बताएकाछन् । उनका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोगी व्यक्ति रहेकाछन् ।नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा नेपालमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण हेर्दा प्रष्ट बढ्दो ग्राफको तस्वीर पाइन्छ । श्रावण २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका रहेकाछन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।
मन्त्रालयका अनुसार अहिले नेपाल दोस्रो तहको सङ्क्रमणमा छ । “निश्चित क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन”, मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “काठमाडौँसहित पर्सा, रौतहट र महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रोमा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।” प्रवक्ता डा.गौतमले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताए । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ”, डा गौतमले आक्रोशपूर्ण रुपमा भने । जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । नेवालभर लकडाउन घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तरराष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको कुरा त सबैलाई विदितै छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ । आशा गरौं स्थानीय तहको यस्तो निर्णयले केहिहद सम्म कोरोना रोकथाम गर्न सकिन्छ कि!