दुई जना चिकित्सकलाई ‘प्लाज्मा थेरापी’

सहयात्रा टिभी

काठमाडौं । श्रावण–३०,त्रिवि शिक्षण अस्पतालको आईसीयूमा रहेका दुई जना चिकित्सकको ‘प्लाज्मा थेरापी’ गरिएको छ । दुबैजनाको स्वास्थ्य अवस्था जटिल भएपछि उपचार पद्धती फेरिएको उपचारमा संलग्न चिकित्सक डा. सनतकुमार दासले जानकारी दिए। बिरामीलाई परीक्षण गर्ने क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेका दुई जना चिकित्सकको अवस्था जटिल हुँदै गएपछि प्लाज्मा थेरापी गरिएको शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ । एकजना वीर अस्पताल काठमाडौंमा कार्यरत चिकित्सक छन् भने अर्को नोबेल मेडिकल कलेज, बिराटनगरका रहेको बताइएको छ ।

दुबैजना चिकित्सकको बिहीबार प्लाज्मा थेरापी गरिएको हो । चिकित्सक दासले थेरापी गरिएपछि पछिल्लो अवस्था केही घण्टापछि ‘मूल्याङकन’ गरिने बताएकाछन् ।त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. दासले वीर अस्पतालका चिकित्सकलाई ६० प्रतिशत र नोबेलका चिकित्सकलाई ४५ प्रतिशत अक्सिजन दिनुपरेको पनि प्रष्ट्याएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल पाँचजना कोभिड–१९ सङ्क्रमित आईसीयूमा उपचाररत छन् । अन्य बिरामीको स्वास्थ्य अवस्था जटिल भएपनि थेरापी नै गर्नुपर्ने अवस्था नरहेको डा. दासबताउँछन् । त्रिवि शिक्षण अस्पतालमा गत साउन १६ गते पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार पद्धती सुरु भएको हो । बिराटनगरका कोभिड–१९ सङ्क्रमित बिरामीलाई पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उपलब्ध उपचार पद्धतीमा जिवन जोगाउन असहज भएपछि आईसीयूमा रहेका उक्त बिरामीमा प्लाज्मा थेरापी गरेपछि दुई दिनभित्र ७० प्रतिशतले बिरामी निको भएको र चार दिनपछि पूर्ण निको भएको डा. दास बताउँछन्।

प्रकाशित : 14 August, 2020

प्रतिक्रिया दिनुहोस्