कोरोना रिपोर्ट मृत्यु अघि नेगेटिभ, मृत्यु पछि पोजिटिभ

सहयात्रा टिभी

विराटनगर । श्रावण–३०, विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ भनिएको थियो । विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पुरुषको कोरोना रिपोर्ट दोस्रो प्रयासमा भने पोजिटिभ आएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार बिहान १० : ३० बजेतिर अस्पताल भर्ना भएका उनको दिउँसो ४ बजे उपचारका क्रममा अस्पतालको आइसोलेसनमै मृत्यु भएको थियो । ज्वरो आउने, रिँगाटा चल्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका उनको स्वाब परीक्षणका लागि पहिलो पटक बिहीबार बिहान ११ बजेतिर स्वाब संकलन गरिएको थियो । तर मृत्यु भइसकेपछि साँझ ७:१५ बजेतिर रिपोर्ट नेगेटिभ आयो । सबै लक्षण कोरोनासँग मिल्ने शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएपछि रिपोर्टबाट विश्वास नभएको भन्दै चिकित्सकले शंका लागेर पुनः दोस्रो पटक राति ११ बजे परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएका थिए । कोशी अस्पताल कोरोना आइसोलेसनका संयोजक एवं बरिष्ठ फिजिसियिन डा.लक्ष्मीनारायण यादवले मृत्यु भइसकेपछि दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट भने शुक्रबार बिहान ५ बजे पोजेटिभ आएको जानकारी दिए । “जीवितै हुँदा गरिएको स्वाब संकलनको रिपोर्ट नेगेटिभ आयो,” उनले भने, “तर मृत्यु भइसकेपछि पुनः शवबाट संकलन गरिएको स्वाब रिपोर्ट भने पोजिटिभ आएकाले पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि हुनगयो ।”डा. यादवकाअनुसार पोजेटिभ बिरामीको रिपोर्ट नेगेटिभ आएपछि परिवारका सदस्यलाई शव जिम्मा नदिइकन दोस्रो पटक परीक्षणका लागि स्वाब नमुना लिइएको थियो । स्वाब संकलन र परीक्षणमा बढी परिश्रम गर्नु परे पनि रिपोर्ट पोजेटिभ आएकाले कोरोना अन्यत्र फैलने ठूलो जोखिम टरेकोडा. यादवको भनाइ छ ।”मृतकको रिपोर्ट नेगेटिभ आएकाले परिवारलाई शव बुझाउने तयारी भइरहेको थियो । तर शंकास्पद रहेकाले पुनः परीक्षण गर्नतिर लागियो,पुनः परीक्षण गरिएकाले संक्रमणको जोखिम अन्यत्र फैलने खतरा सकियो । परिवारलाई शव जिम्मा लगाएको भए लगेर दाहसंस्कार गर्ने र मृत्युपछिको संस्कारमा सहभागी हुनेहरुमा कोरोना संक्रमण फैलिएर अवस्था भयावह बन्ने थियो “उनले भने ।

पहिलो चोटी संकलन गरिएको स्वाबलाई प्रयोगशालामा पटक-पटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि दोस्रो पटक स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले संकलन गरिएका सबै स्वाबको रिपोर्ट सही नआउने बताए । स्वाब संकलनमा प्राविधिक त्रुटि भएमा र परीक्षण गर्ने मेसिनमा बढी लोड हुँदाको अवस्थामा सबै रिपोर्ट सही नआउने उनको भनाइ छ । उनले एक सयमा लगभग ७० प्रतिशत मात्रै रिपोर्ट सही हुने जानकारी दिए ।”प्रयोगशालामा ७० प्रतिशत मात्रै रिपोर्ट सत्य आउँछ भन्ने विश्वकै मान्यता छ,”प्रयोगशाला प्रमुख यादवले भने, ३० प्रतिशत रिपोर्टलाई विश्वास नै गर्न सक्ने अवस्था हुँदैन । त्यही भएर प्रयोगशालाबाट प्राप्त रिपोर्टमा शंका लागेमा पुनः दोहोर्‍याइ तेहेर्‍याइ परीक्षण गरेर सही रिपोर्ट निकाल्ने प्रयास गरिनुपर्ने उनको भनाइ छ । वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ । यसअघि मृत्यु हुनेमा विराटनगर-९ का दुई, ३, ५ र १० नम्बर वडाका एक/एक जना पुरुष छन् ।

प्रकाशित : 14 August, 2020

प्रतिक्रिया दिनुहोस्