वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज। श्रावण–३१,वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक सङ्क्रमितको शुक्रबार साँझ मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ तर औपचारिक घोषणा भने हुन बाँकी छ ।
अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भई विगत सात दिनदेखि अस्थायी कोभिड अस्पतालमा उपचारत वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालाइसिस रोगबाट पीडित वृद्धलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साउन २४ गतेदेखि अस्थायी कोभिड अस्पतालमा उपचार गरिएको थियो । डा. सिंह भन्छन् ‘वृद्ध रोगी भए पनि कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो तर शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या आयो । चिकित्सकहरूले उपचार गरी बचाउने प्रयास गरे तर बचाउन सकिएन ।’शुक्रबार एक सङ्क्रमित वृद्धको मृत्यु भएसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने साउन महिनामा मात्रै २२ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका पाँच, रौतहटका एक रहेका छन् भने जेठ ३१ गते वीरगञ्जको घण्टाघरछेउमा मृत फेला परेका एक सङ्क्रमित युवकको हालसम्म पहिचान हुन नसकेको बताइएको छ।