मौसमी विवरण : पश्चिमतर्फ भारी वर्षा हुने

सहयात्रा टिभी

काठमाडौं । श्रावण–३१, मुलुकको पश्चिमतर्फका अधिकांश भूभागमा शनिबार भारी वर्षा हुने बताइएको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भेगमा दिनभर मौसम प्रभावित बन्दैछ।जल तथा मौसम विज्ञान विभागले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले यी भेगमा शनिबार निरन्तर वर्षा हुने जनाएको छ।बाढी, ढुवान र पहिरोको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। ‘मध्य वर्षातको समय भएकाले देशैभर हल्का र मध्यम वर्षा हुनु स्वाभाविक हो, तर शनिबार गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा केही बढी वर्षा हुँदैछ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने।

चार वटै प्रदेशका नदी तटीय क्षेत्र, चुरे क्षेत्र भएर बहने खहरे खोला नालामा जलसतह बढ्ने भएकाले आसपासका बस्तीमा सतर्कता अपनाउनुपर्ने उनले बताए। आइतबार यस्तो समेत यस्तो असर प्रदेश १ र बागमती प्रदेशमा समेत देखिने श्रेष्ठले जानकारी दिए।शुक्रबार पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका र आसपासका भेगमा एक साता नियमित वर्षा भएपछि जनधनको क्षति भएको मौसम विभागको ठहर छ।विभागले एक साताको अवधिमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथानमा ३ सय ५० मिलिमिटर र सदरमुकाम चौतारामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ। बाह्रबिसे, धाप, गुम्थाङलगायतका क्षेत्रमा पनि २ सय मिलिमिटरभन्दा बढी पानी परेको विभागको तथ्यांक रहेको छ।

प्रकाशित : 15 August, 2020

प्रतिक्रिया दिनुहोस्