भेन्टिलेटरसहितको आईसीयू तयार, तर चिकित्सक छैनन्

सहयात्रा टिभी

काठमाडौं। श्रावण–३२, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको कोरोना विशेष अस्पतालमा पाँच शय्याको भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा रहेपनि विशेषज्ञ चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको छैन ।

शुरुमा ५० शय्या र त्यसपछि थप ५० शय्या गरी १०० शय्याको कोरोना अस्पताल घोषणाका साथै पाँच शय्याको भेन्टिलेटरसहितको आईसीयू निर्माणमा सामाजिक विकास मन्त्रालयले जलेश्वर अस्पताललाई सहयोग गरेको हो ।जलेश्वर अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले सिकिस्त कोरोना बिरामीहरूको लागि भेन्टिलेटरसहितको आईसीयू अनिवार्य चाहिने बताउँदै आईसीयू निर्माणको लागि तेस्रोपटकमा ठेक्का सम्झौता भएका कारणले निर्माणमा ढिलाइ भएको बताए। उनले जनशक्तिको पूर्ति नभएका कारणले आईसीयू सञ्चालनमा आउन नसकेको जानकारी दिदै यसको लागि सामाजिक विकास मन्त्रालयलाई जानकारी गराइसकिएको पनि बताए ।सामाजिक विकास मन्त्रालयले आइसोलेसन तथा आईसीयूमा जनशक्ति भर्नाको लागि सहमति दिएअनुसार सुचना प्रकाशित गरी जनशक्ति राखिएपनि विशेषज्ञ चिकित्सकको कुनै आवेदन नपरेको कारणले सो को भर्ना नभएको जानकारी दिदै मेसु डा.झाले भने, ‘भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा छ, हामीले सम्बन्धित निकायमा माग गरेका छौँ, विशेषज्ञ चिकित्सक आएपछि सुचारु गरिन्छ ।’जलेश्वर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले भेन्टिलेटरसहितको आईसीयू सुचारु भएपछि प्रदेश नं. २ को सरकारी अस्पतालहरूमा यत्तिको सङ्ख्यामा भेन्टिलेटरसहितको आईसीयू सम्भवतः जलेश्वर अस्पतालमा मात्रै हुने दाबी गरेकाछन् । उनले कतिपय सरकारी अस्पतालमा आईसीयू छ तर भेन्टिलेटर छैन, कतै भेन्टिलेटर छ तर आईसीयू नभएको बताउँदै दुवै सुविधा यस अस्पतालमा रहेको स्पष्ट पारे । यो शुरु भएपछि कोरोनाका सिकिस्त बिरामीहरूलाई यहाँ नै राखेर उपचार गरिने अध्यक्ष पाण्डेयबताउँछन् ।कोरोना सङ्क्रमण भएका गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । जलेश्वर अस्पतालका मेसु डा. झाले आईसीयू र भेन्टिलेटर दुवै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिने बताउँछन् । प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा नौ वटा मात्रै भेन्टिलेटर छ । वीरगञ्ज र जनकपुरका सरकारी अस्पतालमा मात्र आईसीयू छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर छ, तर आईसीयू छैन ।प्रदेश नं. २ को मन्त्रिपरिषदको ८ वैशाखमा बसेको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरी बजेट निकासा गरेको थियो । जसमा बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी गरी छ जिल्लालाई पाँच वटा र जनकपुरधाम तथा वीरगञ्जलाई १० वटा उपलब्ध गराउने निर्णय रहेको थियो ।

प्रकाशित : 16 August, 2020

प्रतिक्रिया दिनुहोस्