जमघट तथा उपत्यका प्रवेशमा कडाइ

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०१, उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोली खटिएको छ । उपत्यकाका तीन वटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोली अनुगमनको लागि परिचालन भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी साधन साधनहरूमा जोर-बिजोरको कार्यान्वयन, ठूला मल तथा सपिङ सेन्टर, सैलुन तथा ब्युटीपार्लरहरू खुले नखुलेको हेर्न चारवटा टिमले अनुगमन सुरु गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले साउन ३० गते जारी गरेको आदेशविपरीत हुने कृयाकलाप रोक्न चारवटा अनुगमन समिति परिचालन भएको जानकारी दिएकाछन् । भट्टले रेष्टुरेन्टहरूले निर्देशन पालना गरे नगरेको, भिडभाडको अवस्था, सामाजिक दुरी कायम भएको नभएको र मास्कको प्रयोग नभएमा कारबाही गर्ने अधिकार प्रदान गरेर चारवटा टिम सकृय भएर लागेको जानकारी दिए । उनले परिचालन भएको टिमले तत्कालै कारवाही गर्न सक्ने बताएकाछन्।प्रमुख जिल्ला अधिकारी भट्टले जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्णयको परिपालन गर्ने विषयमा मनिटरिङ गर्न र कोरोनाको सङ्क्रमण रोक्नको लागि चारवटा टोली परिचालन भएको जानकारी दिए । टोलीमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय ललितपुर तथा घरेलु तथा साना उद्योगका कर्मचारीहरूले चारवटा समूह बनाएर अनुगमन गरिरहेको प्रजिअ भट्टले बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेशको कार्यान्वयमा चारवटा टोली भक्तपुर जिल्लाभर परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी दुर्गादत्त ढकालले बताए ।

उनले टोलीले साउन ३० गतेदेखि कार्य सुरु गरिसकेको बताउँछन् । कोराना महामारीको जोखिम कम कसरी गर्न सकिन्छ भनेर टोली परिचालन भइसकेको , टोलीले सामाजिक दूरी कायम गराउन, जोर बिजोरको लागू गराउन, भिडभाडको अवस्थाको बारेमा अनुगमन गर्ने कार्य गरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।परिचालन भएको टोलीले दुई दिनमा मास्कको प्रयोग नगर्ने ३३८ जनालाई एक सय रुपियाँ जरिवाना गराइसकेको पनि बताएका छन् । ढकालले आदेश अवज्ञा गर्दै जोर-बिजोर नमान्ने ४७ वटा दुई पाग्रे तथा ४६ वटा चार पाग्रे सवारीलाई दिनभर होल्ड गरेर राखिएको जनाएकाछन्।

प्रकाशित : 17 August, 2020

प्रतिक्रिया दिनुहोस्