तनहुँकी कोरोना सङ्क्रमित महिलाको पोखरामा मृत्यु
तनहुँ । भाद्र –०२, तनहुँकी एक जना कोरोना सङ्क्रमित महिलाको पोखरामा मृत्यु भएको छ । पोखराको हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हो ।
अस्पतालका डा.पदमबहादुर खड्काका अनुसार प्रयोगशालाले अस्पताललाई यसबारे जानकारी गराएको छ ।
ती महिलामा निमोनिया, मधुमेहलगायत अन्य रोग पनि थिए । मृतकको आईसीयूमा उपचार भइरहेको थियो । तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको मृत्युपछि मङ्गलबार बिहान कोरोना पोजिटिभ रहेको रिपोर्ट आएको छ ।साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गएराति मृत्यु भएको हो । शवलाई नेपाली सेनाले पोखरा ३२ मजुवानजिकै घाटमा व्यवस्थापन गर्नेभएको छ ।योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ, कास्की र गोरखाका एक–एक जना रहेका छन् ।मङ्गलबार बिहान र सोमबार राति गरेर पोखरा महानगरपालिकामा १५ जनासहित गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना भाइरस सक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बिहान थपिएका चार जनामध्ये दुई जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ वर्षीय पुरुष छन् भने दुई जना महिलाको ठेगाना नखुलेको बताइएको छ ।