उपत्यकामा आज मध्यरातबाट निषेधाज्ञा
काठमाडौं ।भाद्र–०३,विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो। बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म एक साताको लागि निषेधाज्ञाको निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफल भएको थियो। जिल्लाका सुरक्षा प्रमुखले छलफलपछि गरेको उस सिफारिसलाई गृहमन्त्रालयले अनुमोदन गरेको हो। अन्य जिल्लाको हकमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीडीओलाई दिइए पनि राजधानी भएकाले उपत्यकामा गृहमन्त्रालयसँग समन्वय हुँदै आएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो। मंगलबार एकै दिन २०५ जनामा संक्रमण देखिएपछि सरकार निषेधाज्ञाको निर्णयसम्म पुगेको हो।उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार नाघिसकेको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ।