नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या २९ हजार नजिक
काठमाडौं । भाद्र–०३, थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ १५९ संक्रमित देखिएका छन् । काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको मन्त्रालयले बताएको छ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।
मुलुकभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।