बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो

काठमाडौं । भाद्र–१६,काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदैगरेको एम्बुलेन्स आज बिहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा पाँच जना घाइते भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले बिहान ५ः१५ बजे पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउपालिका–३ पानीधाराबाट त्रिशुली नदीमा एम्बुलेन्स खसेको जानकारी दिएकाहुन् ।दुर्घटना भएपछि फिस्लिङबाट गएको प्रहरीले टोलीले घाइते सबैलाई उद्धार गरी भरतपुर पठाएको छ । उनीहरूको भरतपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।घाइते हुनेहरूमा झापा गौरीगन्ज गाउँपालिका–१ बस्ने २८ वर्षीय एम्बुलेन्स चालक सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका–२ बस्ने ५० वर्षकी क्यान्सर बिरामी दिलमाया राना मगर, सोही नगरपालिकाका १५ वर्षीय बाधे राना मगर, २६ वर्षीय मेककुमारी राना मगर, ३४ वर्षीय नरबहादुर मगर रहेका छन् । प्रहरीले घाइतेमध्ये बाधे रानामगरको अवस्था गम्भीर रहेको जनाएको छ ।