लाइसेन्स परीक्षामा पछिल्लो समय उत्तीर्ण हुने दर न्यून
सहयात्रा टिभी
काठमाडौं । भाद्र–२४,नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् ।
काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकले बिरामीको उपचार गर्न पाउँछन् । काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको परीक्षामा धेरैजसो अनुत्तीर्ण भएका छन् । एमबिबिएसतर्फ सात सय ८५ जनामा तीन सय ६१ जना अर्थात् ४६ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम कार्की बताएकाछन् । परीक्षामा सहभागीमध्ये चार सय २४ अर्थात् ५४ प्रतिशत अनुत्तीर्ण भए । बिडिएसतर्फ भने दुई सय ६२ जनामा एक सय ५९ जना उत्तीर्ण भएका छन् । काउन्सिलका उपाध्यक्ष डा.कार्कीका अनुसार यसपटक उपत्यकाबाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो । पछिल्लो समय उत्तीर्ण हुने दर न्यून हुँदै गइरहेको उनी बताउँछन्।