नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ५१ हजार ९१९ पुग्यो
काठमाडौं । भाद्र–२६, पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का १ हजार ४ सय ५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा जनाएको छ । कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ सङ्क्रमित फेला परेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।
पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित पचास हजार नाघेको हो ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने संख्या ३६ हजार ६७२ पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।आइसोलेसनमा १४ हजार ९२५ जना र क्वारेन्टिनमा छ हजार ७८ रहेका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२/१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११/११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ/छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन/तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई/दुई, जुम्ला, बर्दिया र धादिङमा एक/एक सङ्क्रमित थपिएका हुन् । तीमध्ये छ हजार ६३४ होम आइसोलेसनमा र आठ हजार २९१ संस्थागत आइसोलेसनमा छन् । नेपालमा हालसम्म आठ लाख २१ हजार १८६ नमूनाको पिसिआर परीक्षण गरिएको छ । सक्रिय सङ्क्रमितमध्ये १७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा पाँच, प्रदेश २ मा २४, वाग्मती प्रदेशमा १०७, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ३३, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा एक जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै वाग्मती प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचारमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा भने सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ ।