नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो
काठमाडौं । असोज–०८, हुम्लामा केहि दिनअघि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले बुधबार स्तम्भ भेट्टाएको हो ।
२०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। त्यहाँ पुग्न हिल्साबाट ६ घण्टा लाग्छ। गाउँपालिका अध्यक्ष लामाका अनुसार २०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटाएको थिएन। सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो। पिलर हराएको मौका छापी लिमीको लाप्चामा नेपाली भूमि अतिक्रमण गरी चिनियाँ पक्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिले दाबि गर्दै आएका छन् । लामाले पिल्लर भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने बताए।