सरकारले मन्त्रालय फुटाएर मन्त्री थपे विरोधमा उत्रन्छौं : नेता पौडेल
काठमाडौं । असोज–१५, प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनका लागि आन्तरिक छलफलमा रहेका बेला मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चेतावनी दिएका छन् । नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउने गैरजिम्मेवार प्रवृतिलाई नयाँ संविधानले अन्त गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
“देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिस्टले चलाएका छन्, कर्मचारीको पेन्सन धान्न नसक्ने भइसकेको अवस्था छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रनेछौं ।” नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।