केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहुलियत अनुदानले किसान खुशी

सहयात्रा टिभी

सप्तरी । असोज–१९, सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि  कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए ।

कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ ।अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए ।

किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोरै लगानीमा बढी उत्पादन हुने उन्नत जातको तरकारीको बीउ वितरण गरिएको बताए ।

नगरपालिकाका अनुसार तरकारीको बीउ रु पाँच लाख ३१ हजार ६७० मा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कृषि विकास शाखाका यादवले धानको गबारो आदिको विषादी रु दुई लाख १८ हजारमा खरिद गरी २५ प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । गत वर्ष पनि कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरेको थियो ।

कृषि विकास शाखाबाट वितरण गरिएको बीउ उन्नत जातको भएको र राम्रोसँग उत्पादन हुने विश्वास रहेको किसान हेमप्रसाद अधिकारीले बताए । कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको खेतमा आई तरकारी बालीको निरीक्षण गरी सल्लाह सुझाव दिने गरेकोमा उनले खुशीसमेत व्यक्त गरे ।रासस

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्