आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरी मनाइँदै
काठमाडौं । कार्तिक– ०९, आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । बडादसैंको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँन्छ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ। तर यसपालि भने कोरानाको कारणले बन्द गरिएको छ ।