बडादशैँको चौथो दिन कुष्माण्डा देवीको पुजा आराधना गरी मनाइंदै

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–०४, नेपालीको महान् चाड बडादशैँको मंगलबार अर्थात आज चौथो दिन । यस दिन कुष्माण्डा देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइँदैछ ।

बडा दशैँमा पहिलो दिन शनिबार घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाआजा गरि मनाइन्छ ।देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरमा विगतका वर्षमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो ।काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि यसपालि सुनसान छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख रहेको पाइएको छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।दुर्गाको प्रतीकका रुपमा प्रतिप्रदाका दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई बर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ ।यसवर्षको दशैंको टीकाको शुभ साइत कात्तिक १० गते विहान १०ः१९ बजेर रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा भन्ने गरिन्छ ।

प्रकाशित : 20 October, 2020

प्रतिक्रिया दिनुहोस्