लामो समय पछि भित्रिन थाले पर्यटक

काठमाडौं । कार्तिक–२१, कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा रोक गरिएको खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कले कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको देखाएको छ ।
बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर (कात्तिक)मा मात्रै एक हजार ८७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङ्क्रमण नियन्त्रणका लागि लकडाउन सुरु गरिएको चैत ९अप्रिल०यता सबैभन्दा धेरै पर्यटक यो भित्रिएको यो नै पहिलोपटक हो ।बोर्डको तथ्याङ्कले अक्टोबरअघि अप्रिलमा १३, मेमा ३०, जुनमा एक सय, जुलाईमा १९५, अगस्टमा २६८ र सेप्टेम्बरमा ५८२ जना पर्यटक भित्रिएको देखाएको छ । सङ्क्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि एकै महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन् ।
लकडाउन बीचमै पनि विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहे पनि उक्त सङ्ख्या खासगरी नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायमा कर्मचारी मात्र रहेको बोर्डले जनाएको छ । अक्टोबरमा नेपाल भित्रिएको विदेशीको सङ्ख्या भने घुम्नकै लागि पर्यटकका रूपमा आएको बोर्डका निर्देशक मणि लामिछाने बताउँछन् ।२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिए पनि कोभिड–१९ सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्र ठप्प भएको थियो । लकडाउन घोषणा हुनुअघि यो वर्षका सुरुवाती दुई महिनामा भने पर्यटक आगमन सङ्ख्या तुलनात्मक रूपमा राम्रो रहेको लामिछानेको भनाइ छ ।तथ्याङ्कअनुसार जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका थिए । त्यसलगत्तै फेबु्रअरीमा एक लाख एक हजार चार सय पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा विश्वव्यापी रूपमै कोरोनाको प्रभाव बढिरहेको र २४ तारिखदेखि नेपालमा लकडाउन नै सुरु भए पनि त्यसअघि ३४ हजार पर्यटक नेपाल आएको देखिन्छ । त्यसयता अक्टोबरसम्म तीन हजार पर्यटक नेपाल आएका हुन् ।सन् २०२० को १० महिनासम्म नेपाल भित्रिने पर्यटकको सङ्ख्या भने दुई लाख १८ हजार पुगेको छ । पछिल्लो समय खासगरी पर्वतारोहण र पदमार्गका लागि विदेशी पर्यटक नेपाल आएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटनका लागि मुख्य सिजन मानिने अक्टोबर, नोभेम्बरमा पर्यटकका लागि खुला हुँदा यसले केही भए पनि उत्साह थपेको व्यवसायीहरु बताउँछन् ।