कांग्रेसद्वारा महाधिवेशनको मिति सर्ने पक्का
काठमाडौं । मंसिर–२६, नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड(१९ को सङ्क्रमणका कारण महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गएको असार २२ गते केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।
कोभिड(१९ कारण कार्यतालिकाअनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । त्यही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आउँदो फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाण्डौमा भएको थियो ।