व्यावहारिक रुपमा अघि बढी अनुशासनमा रहेर काम गरौं- पर्यटनमन्त्री ढकाल
काठमाडौं । पुस १२, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको खम्वा मानिने पर्यटन क्षेत्रलाई गतिशील रुप दिनका निमित्त नीतिगत सुधार गरि थप प्रभावकारी योजना अघि बढाइने बताएका छन्।
शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आइतबार पदभार ग्रहण गर्दै मन्त्रालयको कानुनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषधमा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिए।
उनले भने, मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।
उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे।
मन्त्री बद्लिए पनि सरकार र कार्यनीति बद्लिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपार्टीको विकास गर्न मातहत निकायलाई निर्देशन दिए। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकाल पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा ९ सदस्य नयाँ थप गर्दै मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए।