काँग्रेसको बैठक फेरि आजबाट सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस १९, संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पुस ७ गते बोलाइएको र ४ दिन बसेर स्थगित भएको बैठक आजबाट फेरि सुरु हुँदैछ । आज आइतबारदेखि बैठकले निरन्तरता पाउने भएको छ ।

आइतबार दिउँसो १ बजे बैठकको लागी पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम पनि आज जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अदालतको निर्णय पर्खिने भन्नेमा भने मतभेद छ ।

सभापति शेरबहादुर देउवा गएको १३ गतेको सांकेतिक विरोधपछि संसद् विघटनविरुद्ध सडक संघर्षमा जान नहुने पक्षमा देखिन्छन् । तर, वरिष्ठ नेता पौडेल पक्षका अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बनाएर सडक संघर्षमा जानुपर्नेमा जोड दिएको पाइन्छ ।

आजका बैठकमा पनि पौडेलले थप संघर्षका कार्यक्रम ल्याउन जोड दिने भन्ने बुझिएको छ । काँग्रेस बैठक संसद विघटनसँगै पार्टीको १४ औं महाधिवेशनमाथि केन्द्रित छ । महाधिवेशन (फागुन ७, १०) घोषित मितिमा नहुने करिब पक्का भएपछि अर्को मिति तय गर्ने विषयमा काँग्रेसमा छलफल भइरहेको छ । तर संसद विघटनबारे अदालतको फैसलालाई मध्यनजर गरी महाधिवेशन कसरी र कहिले गर्न सकिन्छ भन्नेमा टुंगो हुन सकेको छ । पौडेल पक्षले विशेष महाधिवेशनको विषयलाई उठाएको छ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम टुंगोमा पुग्न नसकेकाले वर्तमान परिस्थितिलाई हेरी विशेष महाधिवेशनमा जानुपर्ने उनीहरुको तर्क रहेको छ ।

प्रकाशित : 3 January, 2021

प्रतिक्रिया दिनुहोस्