केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाडोमा के तपाईंको औंला सुन्निन्छन् ? यस्तो छ बच्ने उपाय

सहयात्रा टिभी

के जाडो मौसममा तपाईहरुको हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने गर्छ ? जाडो याममा यो समस्याले कतिपय मानिसलाई सताउने गर्छ ।

वीर अस्पतालकी छाला रोग विशेषज्ञ डाक्टर लैला लामाका अनुसार ुजाडो याममा हातखुट्टाका औंला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरु साँघुरो हुन्छन् र यो समस्या देखापर्छ । यो समस्यालाई मेडिकल भाषामा चिलब्लेन भनिन्छ । यो समस्यालाई समयमै ख्याल गरेर घरमै उपचार गर्न पनि सकिन्छ । यद्यपि, चिलब्लेन रोगलाई बेवास्ता गरी समयमै उपचार नगरेको खण्डमा समस्या बल्झिदै गएर औंलासमेत झर्न सक्छ ।

चिलब्लेन हुनुका कारण –

छाला रोग विशेषज्ञ डा. लामाका अनुसार, जाडो याममा घरधन्दामा बढी सक्रिय हुनेलाई औँलामा यी समस्या देखिन्छ। जस्तै, चिसो पानीले भाडा माझ्नाले, चिसो पानीमै लुगा धुने वा अन्य घरायसी काममा बारम्बार पानी चलाइरहने अथवा चिसो ठाउँमा धेरैबेर बस्न पर्ने मानिसहरुलाई चिलब्लेन हुन्छ ।
चिसो मौसममा मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ। रक्तसञ्चारमा गडबडी हुँदा वा नसाहरु खुम्चिएर रक्तसञ्चारमा अवरोध हुँदा ससाना नलीहरु खुम्चिछन् । जसले गर्दा चिलब्लेन रोग लाग्ने गर्छ । जाडो याममा चिसोबाट बच्न सिधै शरीरलाई तताउँदा पनि मसिना रक्तनलीहरु फुटेर छालामा विभिन्न खालका समस्याहरु आउँछन् ।

यस्ता हुन्छन् चिलब्लेनका लक्षणहरुः

— चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुँदै जान्छ ।
—छालाको रङ गाढा निलो र रातो हुने गर्छ ।
—पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ ।
—चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ ।

चिलब्लेनबाट बच्ने उपायहरुः

चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो, जुन यसरी गर्न सकिन्छ ।
—जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने।
—न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने ।
— शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने ।
—जोडो मौसममा चिसो पानी सकभर नखेलाउने ।
— भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने ।
—बिहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने ।
— साँझ बिहान आगो वा हिटर बालेर ताप्ने ।
— हात खुट्टाका औंलाहरु घाममा सेकाउने ।
यी घरेलु उपाय अपनाउँदा पनि चिलब्लेन रोग निको नभएको खण्डमा छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नु पर्छ ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्