बुधबारसम्म हिमपात
काठमाडौं । पुस २१, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिमका अधिकांश जिल्लामा बुधबारसम्म हिमपात हुने पूर्वानुमान गरिएको छ । प्रदेशका पहाडी जिल्लाहरुमा हिमपातसँगै हावाहुरी समेत चल्ने, तर तराई भेगतिर भने यो शितलहरको जोखिम त्यति देखिँदैन ।
सोमबारदेखि नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रहरुमा हल्का हिमपात भएको थियो ।पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा पनि भएको महाशाखाले बताएको छ । पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी क्षेत्रमा जाडो बढ्न सक्छ । तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु–कुहिरो लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना भने देखिन्छ । चिसो बढे पनि तत्कालै शीतलहरको सम्भावना नदेखिने मौसमविद् बरुण पौडल बताउँछन् ।