भरतपुर अस्पतालमा आँखाका उपचार सेवा सञ्चालनमा

सहयात्रा टिभी

चितवन । माघ ०६, भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका छन् ।

सो अवसरमा अध्यक्ष डा. अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको जानकारी गराएका छन् । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उनले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको जानकारी गराएका हुन्।

निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको भनी बताएका छन् । उनले भने, “अहिले साधारण सेवाबाट शुरु गर्छौं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उनले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३ औं विभागको रुपमा आँखा विभाग स्थापना भएको जानकारी गराए ।

यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । अहिले प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई नै लिने गरिन्छ ।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्