आजको महिला लिग फुटबलमा आर्मी र पुलिस भिड्ने

सहयात्रा टिभी

काठमाडौं । माघ ०७, राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

दिउँसो २ बजे उद्घाटन खेल सुरू हुनेछ । पहिलोपटक बृहत रुपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी गराएका छन् ।

उद्घाटनपछिको खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेभएको छ । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी हुनेछन् ।एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु. १० लाख, दोस्रोले रु. आठ लाख, तेस्रोले रु. पाँच लाख तथा चौथो हुनेले रु. तीन लाख प्राप्त गर्ने एन्फाले बताएको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्