उखु किसानले अझै पाएनन् बाँकी रकम
सहयात्रा टिभी
काठमाडौं । माघ ०८, सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि सर्लाहीका उखु उत्पादक किसानले अझसम्म उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् ।

जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् भने धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले किसानलाई तिर्न बाँकी करिब रु १७ करोडमध्ये ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको बताइएको छ ।
किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको बताईएको छ । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।
सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष मैनालीले बताउनुभयो ।


