नेपालकै अहिलेसम्मको सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने
काठमाडौं । माघ ११, पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको बताएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा गरिने ‘नाइन्टी सिक्स ट्रफी’ दुईदिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने भएको छ, जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात प्रतियोगिताहरू हुनेछन् ।
प्रदेश ५ र प्रदेश ६ को एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशको विजेताले राष्ट्रियस्तरको फाइनल खेल्नेछन् । कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने, “पहिलो सिजनमा कम्तीमा ४८ टोलीहरूलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरूको संख्या आगामी बर्षहरुमा थपिँदै जानेछन्” ।
प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीलाई सहभागी गराइने बताईएको छ । पहिलो सिजनका खेलहरू झापा र मोरङमा हुनेछ । मोरङमा हुने फाइनल फागुन २२ र २३ गते खेलाइनेछ । प्रदेश २ को सिजनका बारे विस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।
त्यसैगरी, प्रतियोगिताको विजेता टोलीलाई साढे दुई लाख, ‘म्यान अफ द सिरिज’ले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् । पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा सुरू हुनेछ ।