श्रीस्वस्थानी माधवनारायण व्रत सुरु : यस्तो देखियो शालीनदीमा
काठमाडौं । माघ १५, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै छ । साँखुको शालीनदीमा बिहीबार विधिवत् रूपमा श्रीस्वस्थानी माधवनारायण व्रत सुरु भएको छ । ब्रतालुले बिहीबार बिहान साँखुको ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने गरीन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।
यस वर्ष कोभिड–१९ महामारीका कारण ब्रतालुहरूको पीसीआर र निमोनिया परीक्षण रिपोर्ट अनिवार्य गरिएको हो । संस्कृति–परम्परा जोगियोस् र ब्रतालुहरूको स्वास्थ्य सुरक्षा पनि होस् भनेर यस्तो व्यवस्था गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बताएको छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिएका छन्।