२०२१ को रोयल इन्फिल्ड हिमालयन–आकर्षक बनावट र कलरमा
काठमाडौं । माघ १५, रोयल इन्फिल्ड हिमालयनको २०२१ मोडलको अफिसियल इमेज सार्वजनिक भएको छ । यो मोटरसाइकल केही दिनमा सार्वजनिक हुने बताइए पनि आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।
रोयल इन्फिल्ड हिमालयन अन्य केही अपडेटका साथै तीन कलर अप्सनमा उपलब्ध हुनेछ । रोयल इन्फिल्डको एक मात्र एड्भेन्चर मोडलको सो बाइक अब ग्रेनाइट ब्ल्याक, मिराज सिल्भर, पाइन ग्रीन, ग्राभल ग्रे, लेक ब्लु र रक रेड कलरमा समेत उपलब्ध हुने बताईएको छ।
मेकानिकल पक्षको कुरा गर्दा हिमालयनमा पहिले देखि नै भएको ४११ सीसीको इन्जिन यसमा हुनेछ, जसले २४.१ बीएचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्दछ भने यसको सबैभन्दा ठूलो परिवर्तन भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टम हो । रोयल इन्फिल्डले यो प्रविधि मेटियर ३५० मोटरसाइकलमा समेत गरेको छ । हिमालयन जस्तो एड्भेन्चर मोडलको मोटरसाइकलका लागि यो एकदमै आवश्यक प्रविधि हो ।
रोयल इन्फिल्डको सो बाइकमा अलि अग्लो विन्डस्क्रिन छ भने यो टिन्टेड समेत छ र नयाँ विन्डस्क्रिनले राइडरको थकानलाई कम गर्ने विश्वास गरिएको छ । मोटरसाइकलको सिटमा अब ब्राउन सेडको प्रयोग गरिएको छ भने यसमा हाई डेन्सिटी फोमको प्रयोग गरिएको छ । पछिल्लो भागमा पनि लगेजलाई अझै सहज तरिकाले राख्न मिल्ने बनाइएको छ ।