शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करीमा कडाइ
काठमाडौं । माघ १८, छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो र निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा पनि बन्दै आएको बताईएको छ ।
यसैबीच निकुञ्जले ८० भन्दाबढी तस्कारलाई पक्राउ गरेको छ । करीब ३०० क्यामराले निकुञ्जको सुरक्षार्थ निगरानी गरिरहेको बताएको छ । निकुञ्जभित्र प्रवेश गर्ने हेलिकप्टरहरु जथाभावी अवतरण गर्ने विगतको चलनलाई अन्त्य गरी विधिमा चल्न सुसूचित गराएको छ भने केही महिनाअघि हेलिकोप्टर जाँचगर्दा सुकुटी बरामत भएपछि हेलिकोप्टर चालकलाई मद्दा चलाएको थियो । निकुञ्जको यस कार्यसँगै अहिले जथाभावी हेलिकप्टर निकुञ्जमा अवतरण कार्य रोक्का गरीएको हो । निकुञ्जको अनुमति नलिएर जथाभावी हेलिकप्टर उडाउने कार्य बन्द गरिएको छ ।
तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेको पाईएको छ । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ ।पहिले वन्यजन्तु हेर्न धेरै टाढासम्म पुग्नुपर्नेमा आजभोलि सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् ।
यार्सागुम्वा व्यवस्थापन निर्देशिका– २०७३ ले देशैभरीका मानिसले यार्सागुम्बा सङ्कलन गर्न पाउने उल्लेख भएबमोजिम सबै आम नागरिक निकुञ्जमा आएर फोहर, चोरी निकासी तथा पासो हालेर निकुञ्जमा वन्यजन्तु मार्ने काम बढेकाले यसलाई रोक्नका लागि डोल्पाका स्थानीयले मात्र यार्सागुम्बा सङ्कलन गर्न पाउने गरी यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनका लागि विभागमा लेखि पठाएको निकुञ्जले जनाएको छ ।