पशुपतिनाथमा सुनको जलप लगाइने
काठमाडौं । माघ १८, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको र मूल मन्दिरअघिको बसाहा र छानामा भने सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । सो कार्यका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए ।
सदस्यसचिव ढकालको भनाई अनुसार, “कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ ।”
१०८ ब्राह्मणद्धारा धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि रहेको छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।
गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निर्णय गरेको बताईएको छ । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था रहेको छ ।