कोरोना खोप लगाएका ८७७ मध्ये ३३ मा सामान्य समस्या
काठमाडौं । माघ २१, डोटीमा कोरोनाविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ जनामा ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ।
जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।’
खोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको हो । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ ।