ट्राफिक नियम उल्लङ्घनको जरीवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने
काठमाडौं । माघ २१, महानगरीय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरीवाना रकम अबदेखि इसेवाबाटै भुक्तानी गर्न सकिने भएको हो। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले हस्ताक्षर गरेका छन्।
अनलाइन भुक्तानी गर्दा जरीवाना बापतको राजस्व रकम सिधै सरकारी राजश्व खातामा जम्मा हुनेछ। जसले गर्दा जरीवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिनेछ। फलतः यसअघि बैंकमा लाइन बस्नुपर्दा धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।
सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नंबर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरीवाना रकम देखाउनेछ। सोही ठाउँमा मागिएको विवरण भरी सहजै इसेवाबाट रकम भुक्तानी गर्न सकिने बताईएको छ।